Post A Property FREE Login

News

घरजग्गा कारोबारमा उच्च गिरावट, किनबेच आधा घट्यो

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गा कारोबारमा उच्च गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले घरजग्गामा प्रवाह हुने कर्जामा कडाइ र भूमि व्यवस्था मन्त्रालयले कित्ताकाटमा अंकुश लगाउँदा घरजग्गा कारोबारमा मन्दी आएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार साउनमा जम्मा ३३ हजार ८३४ घरजग्गा किनबेच भएको छ । यो असारको तुलनामा १३ हजार २४८ कम हो । असारमा देशभरका मालपोत कार्यालयहरूबाट ४७ हजार ८२ घरजग्गा किनबेच भएको थियो ।

बैंकिङ प्रणालीमा भएको चरम तरलता अभावका कारण ऋण पाउन मुस्किल भएपछि घरजग्गा कारोबार सुस्ताएको हो । साथै, राष्ट्र बैंकले घरजग्गामा जाने कर्जाका अंकुश लगाउँदा कारोबार प्रभावित हुन पुगेको हो ।

राष्ट्र बैंकले गत वर्ष मौद्रि नीतिको अर्धवार्षिक समीक्षा मार्फत घरजग्गामा प्रवाह गरिने कर्जाको जोखिमभार बढाएर १०० प्रतिशतबाट १५० प्रतिशत कायम गरेको थियो । सोसँगै बैंकहरुले घरजग्गामा जाने ऋण घटाउन थालेका थिए ।

यस्तै, सरकारले गत जेठ २२ मा भू–उपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै घरजग्गाको कारोबार घट्न थालेको हो । सरकारले कृषियोग्य जमिन कित्ताकाटमा बन्देज लगाएसँगै टुक्रा जग्गा अभाव हुँदा कारोबार ओरालो लागेको हो ।

भूमी, व्यवस्था तथा सहकारी मन्त्रालयले मंगलबार स्थानीय तहहरुलाई पत्राचार गरेर २३ मंसिर भित्र आफ्नो क्षेत्राधिकार भित्रको जग्गा कृषियोग्य र गैरकृषि क्षेत्रगरी छ्ट्टाउन भनेको छ । जसको कारण पनि आगामी केही महिना घरजग्गा किनबेच प्रभावित हुने देखिन्छ ।

अनुत्पादक क्षेत्रमा बैंकहरुले कर्जा लगानी गरेको भन्दै कडाइ गदै आएको राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत पनि यस्ता क्षेत्रमा गरिने कर्जाको ब्याजदर महंगो बनाएको छ । जसको प्रत्यक्ष असर घरजग्गा व्यवसायमा परेको देखिन्छ ।

मालपोत कार्यालयहरुका अनुसार बैंकहरुबाट समयमै ऋण पाउने अवस्था नहुँदा र भू–उपयोग नियमावलीका कारण घरजग्गाको कारोबारमा मन्दी आएको हो । साथै, साउन महिना घरजग्गा कारोबारको सिजन नभएकाले पनि कारोबार घटेको हुनसक्ने व्यवसायीहरु बताउँछन् ।

वैशाख यता घरजग्गा कारोबारमा सुस्ताएको छ । वैशाखमा ४४ हजार किनबेच भएको थियो भने जेठमा कुल ५४ हजार ५१४ घरजग्ग किनबेच भएको थियो ।

राजस्व संकलनमा भारी गिरावट

घरजग्गाको किनबेच आधाले घटेसँगै राजस्वमा संकलनमा पनि भारी गिरावट आएको छ । असारमा घरजग्गा कारोबार बापत ६ अर्ब ७२ करोड रुपैयाँ राजस्व संकलन भएकोमा साउनमा ४ अर्बले घटेर २ अर्ब ७३ करोड रुपैयाँमा सीमित भएको विभागको तथ्यांकले देखाएको छ ।

देशका अन्य मालपोत कार्यालयहरुबाट कारोबारसँगै राजस्व संकलन घटे पनि संघीय राजधानी समेत रहेको उपत्यकामा सबैभन्दा धेरै राजस्व उठेको छ ।

उपत्यकामा घरजग्गाको सरकारी मूल्यांकनका साथै भाउ समेत बढेकाले सरकारले प्राप्त गर्ने राजस्व पनि बढेको हो । साउनमा उपत्यका भित्रका क्षेत्रहरुमा लिखत पारित ५ सयभन्दा कम भएको छ ।

सो महिना सबैभन्दा धेरै लगनखेल मालपोतले २६ करोड ३७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यसैगरी, भक्तपुर मालपोत कार्यालयले १७ करोड १२ लाख रुपैयाँ, डिल्लीबजारले १४ करोड ९० लाख रुपैयाँ, कलंकीले १३ करोड २९ लाख रुपैयाँ र चाबहिल मालपोत कार्यालयले १३ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेका छन् ।

यी ठाउँमा भयो धेरै किनबेच

गत वर्षदेखि सबैभन्दा धेरै घरजग्गा कारोबार हुँदै आएको सुनसरीको इनरुवा मालपोत कार्यालयबाट साउनमा पनि कारोबार हुने शीर्ष स्थानमा रहेको छ । यस कार्यालयबाट साउनमा १६४४ लिखत पारित भएको विभागले जनाएको छ ।

इनरुवाबाट गत असारमा ६३३ लिखत पारित भएको थियो भने जेठमा २६४५ लिखत पारित भएको थियो । इनरुवापछि जनकपुरधाम मालपोतबाट सर्वाधिक घरजग्गा कारोबार भएको छ ।

जनकपुरबाट साउनमा १४१२, मोरङको बेलवारीबाट १३३४, नेपालगञ्जबाट १०९८, राजविराजबाट १०६५, घोराहीबाट १०६२, भद्रपुरबाट १०५२ किनबेच भएको छ ।

Source : www.chanakyapost.com